देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाई र सञ्चालकलाई पक्राउ बचत कर्ताले दिए सीआईबीमा उजुरी


काठमाडौं, सहकारी विभागले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई लगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार गरेको छ ।

संस्थाका सदस्यहरुले संस्था विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रमाणसहित मंगलबार नै उजुरी दर्ता गरेका छन् ।

संस्थाले ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी झुटो प्रचार गर्दै आएको थियो ।

बचत फिर्ता गरेको दाबी संस्थाले गरे पनि बचतकर्ताले भने बचत फिर्ता पाउन सकेको थिएन । अन्ततः सदस्यहरुले नै सीआईबीमा प्रमाणसहित उजुरी दिएका छन् ।

बचतकर्तालाई बचत फिर्ताको झुटो आश्वासन र जग्गा दिने प्रलोभन देखाउने देउराली सहकारीबारे अब सीआईबीले अनुसन्धान गर्नेछ ।

संस्थाले २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो । संस्थाले गत असार १ गतेदेखि कार्यालय बन्द गरेको थियो ।

संस्थाको कारोबार बन्द भएपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिएका थिए ।

मंगलबार संस्थाको कार्यालयमा बचतकर्ता भेला भई संस्था विरुद्ध नाराबाजी गरेका थिए । संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईं ठग भएको भन्दै ‘मुर्दाबाद’को नारा समेत सदस्यहरुले लगाएका थिए ।

त्यस लगत्तै उजुरी दर्ता गर्न सदस्यहरु सीआईबी कार्यालय पुगेका थिए।


प्रकाशित मिति : २०८० असार १६, शनिबार गते

धेरै पढिएको

ताजा समाचार