फिदिम, बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर राजमार्ग आज साँझ सम्ममा आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ ।
सडक डिभिजन इलामले हेँवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्दै यातायात सञ्चालन गराउन लागेको हो ।
डाइभर्सनका लागि शनिवार साँझदेखि ह्युमपाइप राख्ने काम थालिएको सडक डिभिजन प्रमुख विदूर पोखरेलले जानकारी दिए ।
इटहरी स्थित सडक डिभिजनको गोदामबाट ल्याइएका ह्युम पाइप खोलामा पानीको सतह घटेसँगै राख्न सुरु गरिएको उनले बताए ।
ह्युम पाइप राख्न आज अपराह्नसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ सवारी तथा ढुवानीका साधन आवागमन सञ्चालन गराउने योजना रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।
असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एक सातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् ।