मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


हेलम्बु, प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताए ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो ।

सो क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिए ।

आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनले जानकारी गराए ।

प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए ।

उनले हेलम्बु–१ मा करिब नौ किलोमिटर सडक तत्काल कालोपत्र गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालराष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुुगेका हुुन् ।

उनलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् ।

उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका थिए । वि. सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवम् दीर्घकालीनरुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ ।

सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

वि।सं। २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो ।

विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो ।

मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

रासस


प्रकाशित मिति : २०८० असार २, शनिबार गते

धेरै पढिएको

ताजा समाचार