नेपाल प्रवेश गरको मनसुन दुई दिनमै कमजोर, पश्चिम नेपालमा चर्को गर्मी र खडेरी


काठमाडौं, नेपाल प्रवेश गरेको २ दिनमै मनसुन कमजोर बनेको छ । बुधबार नेपाल प्रवेश गरेको मनसुन त्यहि दिन धेरै सक्रिय बनेपनि विहीबारदेखि भने कमजोर बनेको छ ।

मनसुन कमजोर बन्दा पूर्वी र मध्ये क्षेत्रको वर्षामा कमि आएको छ भने पश्चिमी तराईको गर्मी र खडेरी चाँडै अन्त्य नहुने देखिएको छ ।

एक हप्ताभन्दा लामो समयदेखि पश्चिम तराईमा तातो हावा ‘लू’ चलिरहेको छ । आज पनि ‘लू’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लगातार एक हप्ताभन्दा लामो समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

अबको तीन दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस छ ।

जनकपुरको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३९ दशमलव ७, दीपायलको ३९ दशमलव ५, वीरेन्द्रनगरको ३८ दशमलव ७ र दाङ घोराहीको अधिकतम तापक्रम ३८ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

यस्तो हुनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक/ दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा मेघ/गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका तराई, मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


प्रकाशित मिति : २०८० असार १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार