काठमाडौं, आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको हो ।
पहिला ब्याटिङ गरेको ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए । भुर्तेलले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा १०१ रन बनाए ।
यस्तै नेपालका लागि भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । यस्तै आसिफ शेखले २४ बलमा २३ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।
ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेले । सोयब खानले ६८ बलमा ३८ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे । करण केसी र प्रतिश जिसीले समान १/१ विकेट र्लि ।
एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।