पूर्वी र मध्ये क्षेत्रमा बाढीको खतरा हुनेगरी भारी वर्षा, पश्चिमी तराईमा भने अझै खडेरी


काठमाडौं, मध्ये नेपाल र पूर्वी क्षेत्रका केही ठाउँमा रातभर भारी वर्षा भएको छ ।

बुधबार नेपाल प्रवेश भएको मनसुन पूर्वबाट मध्य हुँदै पश्चिमतिर सरिरहेको छ । त्यसैकारण पूर्व र मध्ये क्षेत्रमा धेरै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा लमजुङको खुदीबजार केन्द्रमा एक सय २४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ बाढी सूचना केन्द्रले खतराको चेतावनी दिएको छ ।

यस्तै लमजुङ्कै घारेढुंगा र कास्कीको सिकलेसमा ८० मिलिमिटर भन्दा धेरै पानी परेको छ । यसलाई पनि खतरापूर्ण संकेत नै मानिन्छ ।

गोरखाको बारपाकमा ७७ धादिङको धुनिवेशीमा ७२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं र काठमाडौं उपत्यका आसपासमा पनि बुधबार बेलुका देखि नै पानी परेको छ ।

पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाको शिवपूरी धाप ड्याममा ५६, बूढानीलकण्ठमा ३६, कीतिपूरमा ४४ र भक्तपुरमा ३२ मिलिमिटर पानी परेको छ । पूर्वमा सुनसरीमा ३२, इलाममा २९, ओखलढुंगामा ४२, सिन्धुलीमा ४४ र रामेछापमा ४१ मिलिमिटर वर्षा भएको छ ।

पूर्व र मध्ये क्षेत्रमा भारी वर्षा भएपनि पश्चिम तराईमा भने अझै खडेरी र उखरमाउलो गर्मी उस्तै छ । सिन्धुली पश्चिमका कुनै पनि तराई क्षेत्रमा पानी परेको छैन् ।

मनसुन विस्तारै पश्चिम सर्दै गएकाले एक दुई दिनमा पश्चिमसम्म नै पानी पर्ने महाशाखाले जनाएको छ ।

 


प्रकाशित मिति : २०८० जेष्ठ ३२, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार