विराटनगर, कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । बहुमत नरहेकाले प्रदेश सरकारले बजेट अध्यादेशबाट ल्याउने तयारी गरेको हो ।
सोही कारण प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरे ।
यसअघि बुधबार प्रदेशसभा बैठकमा खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट पास नहुने लगभग निश्चित देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । प्रदेशसभामा सरकारको र विपक्षसँग ४६/४६ सांसद छन् । सभामुख निर्णायक छन् ।
अब प्रदेश सरकारले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।