रामेछाप, आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ ।
अबको केही दिनमा रामेछाप जिल्लामा न्यू खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
शुव्रmबार साँझ रामेछाप सदरमुकाम मन्थली बजारमा जडान गरिएको स्मार्ट सडकबत्ती र हाइमास्ट बत्तीको उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले भने , “न्यू खिम्तीको काम सम्पन्न हुने चरणमा छ ।
शनिबारदेखि चार्ज गरेर यसको केही दिनमा रामेछाप जिल्लामा सप्लाई हुन्छ, त्यसपछि पटक पटक बत्ती आउने जाने समस्याको अन्त्य हुन्छ ।
रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माण गरिएको उक्त सबस्टेसनको क्षमता २२०/१३२, १३२/३३ र ११ केभीको छ ।
न्यू खिम्ती सबस्टेसनको विद्युत् आपूर्ति भएपछि रामेछापमा पटक पटक बत्ती आउने जानेलगायतको समस्या अन्त्य हुने र विद्युतीय उपकरणमा हाइभोल्टेजका कारण हुने क्षति पनि कम हुने उनले बताए ।
“अहिले रामेछापमा उत्पादन भएको विद्युत् ढल्केबर, काठमाडौँलगायतका ठाउँमा पुग्ने र ढल्केबरको बिजुली फेरि रामेछापले बाल्नुपर्ने बाध्यता छ, अब यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ,” उनले भने ।
रामेछाप जिल्लाका सबै ठाउँको विद्युत् समस्या अन्त्य गर्न रामेछाप जिल्लाका विभिन्न छ स्थानमा सबस्टेसन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए ।
देशभर ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत खर्च भार विद्युत् प्राधिकरणले बेहोर्ने गरी सहर उज्यालो कार्यव्रmम सञ्चालन गरिएको उनको भनाइ छ ।
उनले यही अभियान अन्तर्गत रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्र, वडा नम्बर ८ चिसापानी र सुनापति गाउँपालिकाको बेथानमा स्मार्ट सडक बत्ती र हाइमास्ट बत्ती राखिएको बताए ।