नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति


काठमाडौं, नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् ।

एनपीसीआई भारतको केन्द्रीय बैङ्कले स्थापना गरेको संस्था हो । उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ ।

सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्त्वपूर्ण सहमति भएको जानकारी दिए ।

उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए । नेपाल र भारतका नागरिकले यसबाट ठुलो लाभ प्राप्त लिन सक्ने उनको भनाइ छ ।

यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्युआर कोड स्यानमार्फत हुनेछ ।

भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए ।

नेपाल राष्ट्र बैङ्कको लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।

रासस


प्रकाशित मिति : २०८० जेष्ठ १८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार