काठमाण्डौ, लगातार दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ। बजार बुधबार पनि ३८.८३ अंकले ओरालो लागेको हो।
योसँगै नेप्से परिसूचक १८४९.७९को विन्दूूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२८ अंकले घटेर ३५३.४३ को विन्दूूको विन्दूूमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे करका विषयमा केही अन्यौलता रहेकोले बजारमा गिरावट आइरहेको बताउँछन्। ‘
अर्थमन्त्री र राजस्वका हाकिम पनि सेयर लगानीकर्ताबीच अन्यौलता देखिएको करको विषयमा स्पष्ट धारणा राखिसकेका छन्’, उनले भने, ‘तर, लगानीकर्ताले विश्वास गर्न सकेका छैनन्। त्यसैले अब अर्थमन्त्रीले लिखित रुपमा सर्कुलर नै जारी गरेर यस विषयमा प्रस्ट पार्नुपर्ने देखिन्छ।’
त्यसो भएमा करमा देखिएको अन्यौलता हट्ने र बजारले पनि लय लिने रजौरेको भनाइ छ।
अर्का बजार जानकार नयन बास्तोला भने बजेटमार्फत गरिएको करको व्यवस्था आमलगानीकर्ताको हितमा नरहेको बताउँछन्। ‘त्यही कारण बजारमा गिरावट आएको हो’, उनले भने।
सरकारले पुँजीगत लाभकर नै अन्तिम कर हो भनेर ऐनमै व्यवस्था गर्नुपर्ने बास्तोला बताउँछन्। ‘अहिले लगानीकर्तासँग घाटा कति भयो भन्ने कुनै हिसाबै छैन’, उनले भने, ‘त्यसैले घाटामा कर समायोजन गर्ने विषय चित्तबुझ्दो देखिँदैन।’
लगानीकर्ताले उठाएका माग सरकारले पूरा नगर्ने हो भने आन्दोलनमा उत्रिनुको विकल्प नरहेको पनि बास्तोलाको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ३.५३ प्रतिशतले गिरावट आएको छ।
होटेल तथा पर्यटन समूह ३.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५४ प्रतिशत, विकास बैंक समूहमा २.०४ प्रतिशत, वित्त समूहमा २.१८ प्रतिशत, जलविद्युत समूहमा २.६३ प्रतिशत, लगानी समूहमा २.२८ प्रतिशत, जीवन बीमा समूहमा २.३९ प्रतिशत, लघुवित्त समूहमा १.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४७ प्रतिशत, अन्य समूहमा १.५१ प्रतिशत र व्यापार समूहमा १.६५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७२ रुपैयाँबराबरको कारोबार भएको छ।
यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक ३४ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिविम सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड ५१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ६ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ४ करोड ९७ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ४२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ९४ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ७८ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन युनिलिभर नेपाल र एसियन हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए।
युनिलिभर नेपालको सेयरभाउमा १० प्रतिशत र एसियन हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।