काठमाण्डौ , यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। चारै दिन बजार बढेको छ। अघिल्लो साता १८७७.३२ मा बन्द भएको बजार यो साता १९५९.१२ अंकमा बन्द भएको छ।
यस हिसाबले यो साता बजारमा ८१.८१ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजार ३८.७३ अंकको उकालो लागेको थियो। यस हिसाबले २ सातामा बजारमा लगतार बढोत्तरी आएको छ।
यो साता बजारमा ४ दिनको कारोबारमा ६ अर्ब ७६ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ५ दिन कारोबारमा जम्मा ४ अर्ब ५३ करोड रुपैयाँमात्रै भएको थियो।
यो साता दैनिक एभरेज भोलुम १ अर्ब ६९ करोड रुपैयाँको आएको छ। जहाँ कि अघिल्लो साता यस्तो कारोबार १ अर्ब रुपैयाँ तल थियो। यस हिसाबले यो साता सेयर बजारमा भोलुम र सूचक दुवैमा बढोत्तरी आएको छ।
प्राविधिक पक्ष
क्यान्डल स्टिकका आधारमा
यो साता सेयर बजारमा साप्ताहिक रुपमा पनि बुलिस मारुबुजु क्यान्डल बनेको छ। अघिल्लो साता बजारमा ह्याम्मर प्रकृतिको क्यान्डल बनेको थियो। यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ।
त्यसपछि बनेको यो साताको क्यान्डल बुलिस मारुबुजु क्यान्डल बन्नुले बजारमा विस्तारै माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
कारोबारको हिसाबले पनि ४ महिनापछि लगातार सुधार आएको छ। साप्ताहिक रुपमा गत फेब्रुअरीको पहिलो साता करिब १२ अर्ब रुपैयाँ कारोबारपछि यो साता बजारमा करिब ७ अर्ब रुपैयाँ कारोबार भएको छ।
मुभिङ एभरेजका आधारमा
५० दिने र २०० दिने मुभिङ एभरेजका आधारमा हेर्दा यो साता बजार ५० दिने मुभिङ एभरेजभन्दा माथि बन्द भएको छ। अर्थात ५० दिने मुभिङ एभरेजमा बजारले सपोर्ट लिएको देखिन्छ।
तर, बजार २०० दिनेभन्दा माथि भने गइसकेको अवस्था भने होइन। यदि २०० दिने रेखाभन्दा माथि गएमा बजारमा दोस्रो गोल्डेन क्रसओभर हुन जान्छ।
अघिल्लो बियरिस यात्रामा पनि दोस्रोपटक गोल्डेन क्रसओभर बनेपछि बजारमा ठूलो बढोत्तरी आएको थियो।
अघिल्लो बियरिसमा ११०० को विन्दुमा सपोर्ट लिएको बजारले करिब १२२५ को विन्दुमा सन् २०२० फेब्रुअरीमा दोस्रो गोल्डेन क्रसओभर बनाएको थियो।
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
यो साताको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्ड छुँदै गरेको देखिन्छ। तर, क्रस गरिहालेको अवस्था भने होइन। यदि आगामी साता पनि बजारमा बढोत्तरी कायम रहेमा मध्य ब्यान्ड ब्रेक गर्न सक्छ।
म्याक्डीमार्फत हेर्दा पनि बजार करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ तर यहाँ पनि क्रसओभर भने भइहालेको अवस्था होइन।
साप्ताहिक रुपमै बजारलाई आरएसआईमार्फत हेर्दा ५० को जोनमा ‘डब्ल्यू’ आकार बनेको देखिन्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा अघिल्लो साता बढेको बजारले यो साता निरन्तरता पाएको देखिन्छ भने आगामी साता पनि यसले निरन्तरता पाउने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
- प्रतिरोध ३– २१०६
- प्रतिरोध २– २०४३
- प्रतिरोध १– १९५७
पिभट प्वइन्ट: १८९५
घटेमा सपोर्ट
- सपोर्ट १– १८०८
- सपोर्ट २– १७४६
- सपोर्ट ३– १६६०
निष्कर्ष
अघिल्लो साता ३८ अंकले बढेको बजारमा यो साता ८१.८१ अंकले बढोत्तरी आएको छ। यो साता करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। यस हिसाबले यो साता पनि बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आएको छ।
प्राविधिक रुपमा यो साता बुलिस मारुबुजु क्यान्डल बनेको छ। अघिल्लो साता नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको थियो। यी दुवै क्यान्डलले बढ्दो बजारलाई संकेत गर्छ।
बजारलाई मुभिङ एभरेजमार्फत अघिल्लो बियरिस र यो बियरिसलाई तुलना गरेर हेर्दा अब दोस्रो गोल्डेन क्रस बनाउँदै र करिब–करिब घट्ने क्रम रोकिएको मान्न सकिन्छ।
तर, यसको कन्फर्मेसनका लागि भने आगामी साता पनि बजारको बढोत्तरीले निरन्तरता पाउनुपर्नेछ।