काठमाडौ, पछिल्लो ५ वर्षमा नेपालले भुटानसँग १ खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ ।
बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालू आव २०७९/८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भुटानबाट रु एक खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ ।
सोही अवधिमा नेपालबाट भुटानतर्फ निर्यात भने रु ५० अर्ब ७५ करोड ९२ लाख तीन हजार मूल्य बराबरको मात्र भएको छ ।
पाँच वर्षको तथ्याङ क विश्लेषण गर्दा नेपाल र भुटानबीचको व्यापारमा नेपालले निर्यातको तुलनामा तीन गुणाभन्दा धेरै मालसामान आयात गरेको देखिन्छ ।
पाँचै वर्ष व्यापार घाटा
मेची भन्सार कार्यालयका अनुसार आव २०७५/७६ मा भुटानसँगको व्यापार घाटा रु एक अर्ब ४२ करोड ९६ लाख ५३ हजार थियो ।
आव २०७६/७७ मा रु ९९ करोड ३२ लाख २८ हजार, आव २०७७र७८ मा रु ६१ करोड ४२ लाख ७३ हजार, आव २०७८/७९ मा रु ९० करोड ८१ लाख ४१ हजार र आव २०७९/८० मा रु ७९ करोड ४५ लाख दुई हजार व्यापार घाटा रहेको छ ।
भुटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ । त्यसैगरी नेपालबाट भुटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ ।
चालू आवको दश महिनामा भुटानबाट रु एक अर्ब १३ करोड ३९ लाख ३८ हजार मूल्य बराबरको जिप्सम आयात भएको छ ।
सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान रु तीन अर्ब ७० करोड ३७ लाख ३५ हजार मूल्य बराबरको निर्यात भएको छ ।
रासस