निर्माण सम्झौता एक वर्ष बित्दा पनि झापाको बिर्तामोड–अर्जुनधारा सडक निर्माण ५ प्रतिशत मात्रै


झापा, झापाको बिर्तामोड–अर्जुनधारा सडक निर्माण सम्झौताको एक वर्ष सकिँदा उक्त सडक खण्डको काम पाँच प्रतिशतमात्र सम्पन्न भएको छ ।

भ्याटसहित १५ करोड ८२ लाख ७७ हजारमा प्रविण–मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी बिर्तामोड–अर्जुनधारा सडक निर्माण सम्झौता गरे पनि निर्माण सुरु भएको एक वर्षमा पाँच प्रतिशतमात्र काम सकिएको हो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल जेठ ९ गते सम्झौता भएको थियो । ठेकेदार कम्पनी प्रविण–मैनाचुली–शान्ति जेभीले काम गर्न आलटाल गर्दा समयमा सडक निर्माण हुन नसक्ने आशंका उब्जिएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले बताए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि हालसम्म पाँच प्रतिशतमात्र काम सम्पन्न भएकाले समयमै सडक निर्माण हुन नसक्ने खतिवडा बताउँछन् ।

एक वर्षको अवधिमा ठेकेदार कम्पनीले लिएको पेस्की रकम पाँच प्रतिशत बराबरको काम नगर्दा दोस्रो पटकको पेस्की रकम निकासा गर्न समस्या भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर खतिवडाले बताए ।

त्यस्तै प्रविण–मैनाचुली–शान्ति जेभीले आयोजनास्थलमा सूचना पाटी नराखी काम गर्दा यसको पारदर्शीतामाथि प्रश्न उठ्न थालेको उनको भनाइ छ ।

सूचना पाटी निर्माणका लागि छुट्टै बजेट व्यवस्थापन भए पनि निर्माण कम्पनी प्रविण–मैनाचुली–शान्ति जेभीले सूचना पाटी नराखेकाले आयोजना परिसरमा सबैले देख्ने गरी सूचना पाटी राख्नुपर्ने इन्जिनियर खतिवडाले बताए ।

बिर्तामोडको टाटा सोरुमबाट सुरु हुने सो सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुने भएपनि एक वर्ष बितिसक्दा २० मिटरको ड्रेनमात्र निर्माण भएको खतिवडाले जानकारी दिए ।

काम ढिलो भयो भनेर निर्माण पक्षलाई पटक–पटक पत्र काटेको र तीनवटा निर्माण कम्पनीमध्ये अरु दुई वटालाई फर्म कालोसूचीमा जाने अवस्था रहेको जानकारी गराएको उनले बताए ।

अब पनि काम यही गतिमा भए दोस्रो किस्ता रकम निकासा नगरी रकम रोक्का गरेर फर्मलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउनेसमेत खतिवडाले बताए ।

यता ठेकेदार कम्पनी प्रविण–मैनाचुली–शान्ति जेभीका अनिल भट्टराईले समयमै काम सक्न आफू प्रतिबद्ध रहेको बताए ।

दुई स्थानबाट कामलाई अघि बढाएकाले समयमै बिर्तामोड–अर्जुनधारा सडक निर्माण गरेर हस्तान्तरण गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले आयोजनास्थलमा विस्तृत जानकारीसहितको सूचना पाटी बनाएर राख्ने बताए ।

मजदूर अभावका कारण काममा सोचेजति प्रगति गर्न नसकिएको बताउँदै विद्युत प्राधिकरणले पोल सार्न ढिलाइ गरेकाले निर्माणकार्य प्रभावित भएको उनको भनाइ छ ।

उनले असोजसम्ममा बिर्तामोडदेखि कप्तानबारीसम्मको तीन किलोमिटर सडकमा कालोपत्रे गर्ने जानकारी दिए । काममा ढिलासुस्ती गर्दा यात्रु तथा स्थानीय बासिन्दाले कष्ट बेहोेर्न बाध्य भएका छन् ।


प्रकाशित मिति : २०८० जेष्ठ ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार