काठमाडौ, प्रमुख राजनीतिक दल र तिनका सरकारले निजी क्षेत्रको भूमिकालाई सधैं नजरअन्दाज गर्दै आएकामा मुलुकको अर्थतन्त्र निजी क्षेत्रसँग पूर्ण निर्भर रहेको एक अध्ययनले देखाएको छ ।
मुलुकको अर्थतन्त्र र रोजगारी सिर्जनाका क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा माथि रहेको अध्ययनको निष्कर्ष छ ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले गरेको अध्ययन प्रतिवेदनले नेपाली अर्थतन्त्र निजी क्षेत्रसँग पूर्ण निर्भर रहेको देखाएको हो ।
प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको छ भने कुल रोजगारीमध्ये ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ ।
अध्ययनमा निजी क्षेत्रबाट हालसम्म झन्डै ३२ खर्ब क्रमागत लगानी भएको र यसबाट कुल ५५ लाख रोजगारी सिर्जना भएको उल्लेख छ ।
अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ ।
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार तथा सरकारी प्रभाव घट्दै गएपनि सोहीअनुसार सुधार नभएको अध्ययनको निचोड छ ।
महासंघ र आईएफसीले तीन महिनामा गरेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदनअनुसार अर्थतन्त्रका १८ वटा क्षेत्रमा निजी क्षेत्रको योगदान र अवस्था पत्ता लगाइएको छ ।
अध्ययनका क्रममा नेपालका ५ सय १७ फर्मलाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको र त्यसले निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने ठोस आधार दिएको बताए ।
प्रतिवेदनले निजी क्षेत्रमैत्री नीति र व्यवहारिक विषयहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको उनको भनाइ छ ।
“अध्ययनले अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशतभन्दा बढी योगदान रहेको देखाएको छ ।
यसको अर्थ निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ,” उनले भने, “निजी क्षेत्रले विगत एक वर्षदेखि अपेक्षाकृत काम गर्न सकेको छैन । उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै छ ।”
निजी क्षेत्र कमजोर भएकै कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै अध्यक्ष ढकालले राजस्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालू खर्च धान्न पनि कठिन भइरहेको बताए ।
यस्तो अवस्थामा निजी क्षेत्रले थप रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेसिन बाध्य भएको उनको भनाइ छ ।
“दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक छ भन्नेमा अब शंका रहेन र त्यो सुधारको प्रस्थानविन्दू यसपटकको बजेट हुनुपर्छ,” अध्यक्ष ढकालले भने ।
कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले निजी क्षेत्रको योगदानलाई सरकारले सकारात्मक रुपमा ग्रहण गर्ने उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।
उनले भने, “अर्थतन्त्रमा निजी क्षेत्रका योगदानका विषयमा प्रस्तुत प्रतिवेदनमा सरकारको कुनै विमति छैन र यस क्षेत्रको योगदानलाई सधैं सकारात्मक रुपमा ग्रहण गरेका छौं ।”
निजी क्षेत्रका समस्या समाधानका निमित्त लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले वित्त र मौद्रिक नीतिका माध्यमले लगानीमैत्री वातावरण बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा आईएफसीका देशीय प्रतिनिधि बाबाकर एस फायले नेपालमा निजी क्षेत्रको विकास र विस्तार उत्साहजनक रुपमा भइरहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनले निजी क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सहयोगी बन्ने बताए ।
संसारका धेरै मुलुकमा निजी क्षेत्रसँग आईएफसीले सहकार्य गर्दै यस क्षेत्रको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको उनको भनाइ छ ।
आईएफसीका क्षेत्रीय प्रबन्धक सेल्मा रासाभाक एभडेजिकले नेपालको निजी क्षेत्रले कठिन समयमा पनि अर्थतन्त्रको विकासमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताइन् ।
उनले निजी क्षेत्रको विकास र विस्तारबिना अर्थतन्त्रको विकास अधुरो हुने उल्लेख गर्दै यसका निमित्त नीतिगत पैरवी जरुरी भएको बताइन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको योगदानका विषयमा रहेको अन्योल हटाउन प्रतिवेदन सफल हुने अपेक्षा गर्दै यसले निजी क्षेत्रका समस्या समाधानका निमित्त दबाब सिर्जना गर्ने बताए ।
निजी क्षेत्र पछिल्लो समय खुम्चिएको स्मरण गर्दै उनले नीतिगत उल्झन हटाउनुपर्नेमा जोड दिए ।
महासंघ कार्यकारिणी समिति सदस्य मनोज पौडेलले निजी क्षेत्रको भूमिका फराकिलो बन्दै गइरहेको र यसलाई अझ बढाउँदै लैजानुपर्ने धारणा राखे ।