ठेकेदारको लापर्बाहीले भवन निर्माणमा ढिलाइ


दैलेख, ठेकेदार कम्पनीको लापर्बाहीका कारण स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन निर्माणमा ढिलाइ भएको छ ।

प्रेरा क्याराभान सुपर स्टार जेभी निर्माण सेवा कम्पनीले २०७८ जेठमा सम्झौता गरी २०८१ जेठमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको भए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काम गर्न आलटाल गर्दा भवन निर्माणमा ढिलाइ भएको हो ।

समयमै स्वास्थ्य सेवाको भवन निर्माण नभएपछि बिरामीलाई उपचार गर्ने र सामानहरू राख्ने ठाउँको अभाव भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यवाहक अध्यक्ष रमेश केसीले बताए ।

२०७८ सालदेखि निर्माण थालिएको सो भवनको हालसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको केसीले बताए ।

कर्णाली प्रदेश सरकार समाजिक विकास मन्त्रालयको १८ करोड २३ लाख ९९ हजार ३ सय ८१ रुपैयाँ लागतमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो ।

समयमै भवन निर्माण गर्न पटकपटक भने पनि कसैले वास्ता नगरेको कार्यवाहक अध्यक्ष केसीले जानकारी दिए ।

यस्तै, छिटो काम सम्पन्न गराउन पटकपटक आग्रह गरे पनि ठेकेदारले बेवास्ता गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीले बताए ।

उनले सम्झौता भएको दुई वर्ष हुन लाग्दा पनि भवन निर्माण कार्यले गति लिन नसकेकोमा असन्तुष्टि जनाए ।

यता, दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले काममा ढिलाइ भएको भए सम्बन्धित कार्यालयले ठेक्का रद्द गर्नुपर्ने अधिकार भएको बताए ।


प्रकाशित मिति : २०८० जेष्ठ १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार