जगदुल्लाको पीपीए सम्झौता, ६ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य


डोल्पा, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच गत बुधबार सम्झौता भएको छ ।

डोल्पाको जगदुल्लामा अर्धजलाशय बनाएर मुडकेचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह बनाई विद्युत उत्पादन हुन गइरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो ।

पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरसँगै निर्माणको चरणमा जानका लागि बाटो खुलेको छ ।

सम्झौताअनुसार प्राधिकरणले हिउँदमा ननपिकिङ आवर अर्थात् सामान्य समयमा उत्पादन भएको विद्युत प्रतियुनिट ८.४० रुपैयाँमा र पिकआवरमा उत्पादित विद्युत प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ ।

बर्खायामको विद्युत भने नदी प्रवाह आयोजनासरह प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्नेछ ।

आयोजनाको निर्माण पूर्वको काम सकिन लागेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा निफ्राको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी ९एचआइडिसिएल०, कर्मचारी सञ्चयकोष र नबिल बैंकले ऋण लगानीगर्ने सहमति गरिसकेका छन् ।

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ ।

ऋणबाहेकको ३० प्रतिशत अर्थात् सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ ।

आयोजना निर्माणका लागि एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थासँग वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ ।

आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

आयोजनाका लागि आवश्यक जग्गामध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण भइसकेको छ ।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा छ ।

वातावरणीय अध्ययनकार्य अन्तर्गत टिओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाइ गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा पेस गरिएको छ ।

यो प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पनि अघि बढाएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनीअन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको छ ।

बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ ।


प्रकाशित मिति : २०८० जेष्ठ १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार