शुरु भयो वर्षौँदेखि अलपत्र कालिगण्डकी गर्ज निर्माणको प्रक्रिया


म्याग्दी, मुस्ताङ र म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ ।

गत मङ्सिर महिनामा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनबाट त्रिवेणी इनर्जी प्रा.लिले कालिगण्डकी गर्जको स्वामित्व लिएसँगै आयोजना निर्माणको प्रक्रिया थालिएको हो ।

कालिगण्डकी नदीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको पहिलो पटक सर्वे गरिएको थियो ।

आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ ।

आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण गरिने छ । यो अवधिमा विभिन्न जलविद्युत कम्पनीहरूले आयोजनालाई अगाडी बढाउन खोजे पनि लगानीकर्ताको अभावमा अलपत्र परेको थियो । कालिगण्डकी गर्ज म्याग्दीमा निर्माण हुने सबैभन्दा ठुलो जलविद्युत आयोजना हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबिच लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

तर, चिनिया पक्ष लगानीबाट पछि हटेपछि आयोजना अलपत्र परेको हो । गत मङ्सिरमा उक्त कालिगण्डकी गर्जको सम्पूर्ण स्वामित्व त्रिवेणी इनर्जी प्रा।लिले लिई स्वदेशी लगानीमा आयोजना निर्माणको प्रक्रिया अगाडी बढाइएको प्रा।लिका प्रशासन प्रमुख विजय कार्कीले बताए ।

उनले भने , अव हामी आयोजना बनाउने गरी आएका छौँ,आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ सहयोगको खाँचो छ । एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।’’

उनका अनुसार अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरण सँग विद्युत् खरिद विक्री सम्झौता(पिपिए) गरिसकेको छ ।

आयोजनाको कुल लागत ४३ अर्ब अनुमान गरिएको उनले भने । वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थालिने उनले भने ।

अहिले आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रा।लिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडी बढाएको छ ।

सोलुसनका आर्थिक,सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिए ।

शुक्रवार म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सहितको टोलीले आयोजना क्षेत्रको स्थलगत रूपमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जनप्रतिनिधिहरूले अझै पनि आयोजना निर्माण हुनेमा शङ्का व्यक्त गरेका थिए ।

आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खा याममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

सुक्खा याममा आयोजनाको पेकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खा याममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ ।

यसअघि बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।

आयोजनाले नारच्याङमा तीन करोड रुपियाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा यसअघिनै अधिग्रहण गरिसकिएको छ ।

उत्पादित विद्युत् १ किलोमिटर माथि दानामा निर्माण भएको २२० केभीए काली गण्डकी कोरिडोर प्रसारण लाइनको स्वस्टेसनमा जोडिने छ ।


प्रकाशित मिति : २०८० बैशाख ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार