काठमाडौँ, काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने जानकारी दिए ।
“गेट नम्बर ९ मा रहेको हेडवक्र्समा नयाँ सिलिन्डर जडान गर्नुपर्ने छ । त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नुपर्ने हुन्छ ।
पोहोर सालको बाढीले सिलिन्डर बिगारेको थियो,” उनले भने , “गेट नम्बर १ मा पनि जाली राख्नुपर्ने छ । गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो ।’’
उनले ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको जानकारी दिए ।
उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरु गरिने बताए ।
कुँवरले भने , “पोहोर सालको जस्तो यस वर्ष जेठ १७ गते नै पानी वितरण बन्द गर्नु पर्दैन ।
यो वर्ष पोहोर सालभन्दा कम्तीमा एक महिना भएपनि उपभोक्तालाई बढी पानी खुवाइने छ । सानोतिनो बाढीपहिरोमा आयोजना बन्द गर्नु पर्दैन ।’’
२०७९ मङ्सिर २३ गतेदेखि तेस्रो पटक काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानीको वितरण सुरु भएको थियो ।
२०७७ चैतमा अस्थायी रूपमा पहिलो पटक र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो ।
भू-गर्भ तथा खानी विभागका भू-गर्भविद् शिव बाँस्कोटाले पोहोर साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको सम्भावना कायमै रहेको बताए ।
उनले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको उल्लेख गरे ।