जमिन भासिँदा पुलमा बढ्यो दुर्घटनाको जोखिम


धनगढी, कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ ।

कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो । ‘के गाउँ’ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ ।

भासिएको क्षेत्रमा मर्मतको कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । पुलबाट दैनिक कैयौं मानिससहित सवारी साधनको ओहोरदोहोर हुनेगर्छ ।

भासिएको ठाउँमा स्थानीय सरकारले मर्मतको लागि ध्यान नदिंदा जोखिम बढेको कैलारी गाउँपालिका –४ के गाउँका भीम तिरुवाले बताए ।

‘बिग्रेको ठाउँमा मर्मत गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म ध्यान पुगेको देखिन्न । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।’

जनप्रतिनिधिले चुनावका बेला बाटो मर्मत गर्ने प्रतिवद्धता जनाए पनि आफ्नो प्रतिवद्धतानुसार काम गर्न नसकेको उनले गुनासो गरे ।

केही वर्षअघि बाढीले कटान गरेपछि त्यो पुलको पूर्बी भागतर्फको जमिन भासिन सुरु भएको थियो । जमिन भासिदै गएर पुल पश्चिमतिर नदी पूर्वतिर जाने अवस्था सिर्जना भएको छ ।

बिग्रेको ठाउँमा गाउँपालिका कार्यालयले मर्मत गर्दैआए पनि त्यो टिकाउ हुन सकेको छैन ।

पुलको पूर्वतर्फ देखापरेको समस्या समाधानका लागि अझै एक स्पाम थप गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।

उनका अनुसार त्यसका लागि एक करोड रुपियाँको लागत स्टिमेट पनि गरिएको छ ।

सङ्घीय सरकारका लागतमा सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत सो पुल बनेको हो । पुलको लम्बाई १२५ मिटर छ ।

तर, नदीले धार पूर्वतिर परिवर्तन गरिरहेकाले जमिन भासिने समस्या आएपछि पूर्वतिर अझै एक स्पाम बनाउनुपर्ने देखिएको छ ।


प्रकाशित मिति : २०८० बैशाख १९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार