ल्यापटपमा सफल बन्दै साओमी


“साओमी” यो ब्रान्डलाई तपाईं कसरी चिन्नुहुन्छ ? चिनियाँ मोबाइल ब्रान्ड? बजेट फ्रेन्डली मोबाइल ? फ्यान फलोइङ भएको मोबाइल ब्रान्ड ? हो अधिकांश नेपालीले साओमीलाई जताबाट पनि चिन्ने मोबाइल ब्रान्डकै रुपमा हो । हुन पनि नेपाली मोबाइल बजारमा एकछत्र राज गरेर साओमीले धेरै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । नेपाली बजारमा सबैलाई उछिन्दै अपत्यारिलो रुपमा नम्बर एक मोबाइल ब्रान्ड बन्न सफल साओमी अब मोबाइल ब्रान्ड मात्र नभएर एक सफल टेक एन्ड लाइफस्टायल ब्रान्ड बनिसकेको छ । जुन विस्तारै कोर प्रोफेसनल एरिनामा समेत प्रवेश गरिरहेको छ । त्यसको एउटा प्रमुख उदाहरण साओमीका ल्यापटपहरु हुन् । जसमध्येकै एकमा म अहिले यो आलेख तयार गरिरहेको छु ।

सन् २०१० मा स्थापना भएको साओमीले सन् २०११ मा साओमी एमआई एम(वान मोबाइलमार्फत विश्व बजारमा डेब्यु गरेको थियो । सन् २०१२ सम्म पुग्दा चार बिलियन डलरको कम्पनी भ्यालुएसन बनाउन सफल साओमीले आफ्नो सफलताको यात्रामा कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । सन् २०२१ को दोस्रो क्वार्टरसम्म आइपुग्दा त साओमीले आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धीका रुपमा लिएको एप्पललाई उछिन्दै विश्वको दोस्रो ठूलो स्मार्टफोन उत्पादकका रुपमा नयाँ रेकर्ड बनाउन सफल भयो । प्रविधि क्षेत्रको उदाउँदो कम्पनीको यो सफलता निक्कै लोभलाग्दो देखिन्छ ।

नेपाली बजारमा समेत स्मार्टफोन बाहेक टेलिभिजन, साउन्डबार, एअर फ्रायर, स्मार्ट टुथब्रस, एअर प्युरिफायर, स्मार्टवाच, पोर्टेबल एअर कम्प्रेसर, एमआई राउटर, पावर ब्याङ्क, वायरलेस एअरबड्स, चार्जरलगायतका सामग्री साओमीले आधिकारिक रुपमा आयात तथा बिक्री गर्दै आएको छ । त्यसमा ल्यापटप महत्वपूर्ण एडिसन हो । तर, झट्ट सम्झिँदा साओमीसँग ल्यापटप आउँदैन । मोबाइल नै आउँछ । साओमी ल्यापटप धेरैका लागि नौलो नै लाग्न सक्छ भने ल्यापटप इन्थ्युजियास्ट मात्र होइन समग्र टेक इन्थ्युजियास्टले नै साओमी ल्यापटपलाई हल्कामा लिए झैं लाग्छ । हुनत साओमी मात्र होइन मोबाइल ब्रान्डहरु अनर र सामसुङले नै पनि ल्यापटप मार्केटमा आफूलाई स्थापित गराउन निक्कै संघर्ष गरिरहनु परेको छ ।

यता नेपाली बजारमा सामसुङले ल्यापटप भित्र्याएकै छैन, भने अनरको ल्यापटप नेपाली बजारमा आयात त गरियो, तर यो अनर ब्रान्ड नै डिस्ट्रिब्युटरको अलमलमा रह्यो, थोरै परिमाणमा आयात गरिएका ल्यापटपले बजारमा राम्रो छाप छोड्न सकेनन् । तर, साओमी भने सुरुआतदेखि नै अलिक फरक रणनीतिमा रहेको प्रष्टै देखिन्छ । ल्यापटपको ठूलो माग रहँदा रहँदै र नेपाली वितरकको निरन्तरको प्रयास पछि बल्ल नेपाली बजारमा साओमीले अन्तर्राष्ट्रिय बजारको तुलनामा निक्कै ढिला गरेर ल्यापटप लन्च गरेको थियो । त्यसैले ल्यापटप मार्केटका सन्दर्भमा मोबाइल ब्रान्ड साओमी अलिक संवेदनशील देखिएको छ । नेपाली बजारमा मात्र होइन, ल्यापटप मेकिङमै साओमी निक्कै संवेदनशील र फ्युचरस्टिक देखिन्छ । डिजाइन, बिल्ड र परफरमेन्समा कुनै किसिमको सम्झौता गरिएको छैन । अन्तर्राष्ट्रिय बजार मूल्य पनि निक्कै प्रतिस्पर्धी कायम गरिएको छ । बिक्रीपश्चात्को सेवा र बजारीकरणमा साओमीले आफूलाई सशक्त रुपमा अगाडि बढाएको छ । कहीँं कतै सम्झौताको गुञ्जायस देखिँदैन ।

अहिले नेपाली बजारमा साओमीले रेडमी बुक फिफ्टिन, रेडमी बुक फिफ्टिन प्रो, साओमी नोट बुक अल्ट्रा र साओमी नोट बुक प्रो गरी चार किसिमका ल्यापटप आयात तथा बिक्री गरिरहेको छ । रेडमी सेरिज अलिक बजेट सेग्मेन्टका ल्यापटप हुन् भने साओमी सेरिज बिल्ड क्वालिटी र ब्रान्डका हिसाबले प्रिमियम ल्यापटप हुन् । आठ जीबी ¥याम, पाँच सय बाह्र जीबी एसएसडी ड्राइभ र १५.६ इन्चको एचडी डिस्प्ले भएको रेडमी बुक फिफ्टिन प्रोको ७५ हजार रुपैयाँ बजार मूल्य तोकिएको छ भने सेरिजकै प्रिमियम साओमी नोट बुक अल्ट्राको १ लाख ३७ हजार रुपैयाँ पर्छ ।

अहिले मैले यो लेख लेखिरहेको ल्यापटप साओमीको एक्जिक्युटिभ भर्सनको ल्यापटप भने पनि हुन्छ । साओमी नोटबुक प्रो, आई फाइभ इलेभेन जेन प्रोसेसर प्रयोग गरिएको १६ जीबी ¥याम र ५१२ जीबी एसएसडी प्रयोग गरिएको यो ल्यापटपमा २.५ के रेजल्युसन भएको १४ इन्चको क्यूएचडी डिस्प्ले प्रयोग गरिएको छ । डिस्प्ले यति सार्प र ब्राइट छ कि मलाई यसले फुल्ली स्पोइल्ड गरेको छ । अब मलाई घरमा र अफिसमा भएका अरु कुनै ल्यापटप मनै पर्दैनन् । मैले प्रयोग गर्ने स्मार्टफोनसँग यो फुल्ली सिङ्क्रोनाइज्ड् मात्र होइन, डिस्प्ले पावर र परफरमेन्सका सबै क्षेत्रमा फुल्ली म्याच्ड् र कम्पिट गर्न सक्षम रहेको छ । म यो ल्यापटपको परफरमेन्समा सन्तुष्ट मात्र होइन, अब योबाट अर्को ब्रान्डमा सिफ्ट हुन समेत कुनै पनि हालतमा सम्भव नभएको स्वघोषणा गर्छु । जसको कारक ल्यापटपको सरल र सहज किबोर्ड, विशाल र परिस्कृत ट्र¥याक प्याड र ब्राइटर र क्रिस्प डिस्प्ले हुन् भने डिजाइन र एलिगेन्समा यो कुनै पनि अर्को ब्रान्डको ल्यापटपको तुलनामा पछाडि छँदैछैन ।

मैले यो ल्यापटप चलाएको झण्डै तीन महिना बितिसकेको छ । अनि तपाईंहरु जस्तै मैले पनि साओमी ?, मोबाइल ब्रान्डले बनाएको ल्यापटप के गतिलो होला र भनेर कमेन्ट पनि गरेकै हुँ । तर मलाई यसले पहिलो हेराई अझ भनौं अनबक्सिङमै निक्कै अचम्मित तुल्यायो । साओमी नोट बुक प्रो यति स्लिक र यति राम्रो बिल्ड क्वालिटीमा होला भन्ने मैले सोचेकैै थिइनँ । ल्यापटपको डिजाइन र बिल्ड क्वालिटी हेर्दा यसले एप्पलको म्याकबुकलाई मात दिने खालको छ । म एप्पलको इको सिस्टममा छैन र म्याकको एक्सिपिरियन्स पनि खासै छैन, तर डिजाइन र स्टाटस सिम्बोलका रुपमा धेरैले लिने म्याक बुक प्रोको झझल्को दिने यो विन्डोज ल्यापटपमा साओमीले गरेको मिहेनतको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

साओमी नोट बुक प्रो किन अलग छ ?
सबभन्दा पहिला त डिजाइन नै आउँछ, निट एन्ड क्लिन डिजाइन, मेटालिक बडी, यो ल्यापटप डिजाइनका हिसाबले एलिगेन्ट र प्रोफेसनल दुवै देखिन्छ । एभिएसन ग्रेड एल्मुनियमको प्रयोग गरेर अत्याधुनिक सीएसएनसी मेसिनबाट झण्डै झण्डै मोबाइलको युनि बडी डिजाइनलाई एडप्ट गरेर यो ल्यापटपको बडी निर्माण गरिएको छ । यसमा मोबाइल उत्पादन गर्ने पद्धतिलाई र इन्जिनियरिङलाई साओमीले मज्जाले उपयोगमा ल्याएको देखिन्छ । अनि मलाई यसले प्रभावित गरेको अर्को कुरा यो बक्सभित्र आउने यूएसबी चार्जर पनि हो । धेरै ल्यापटप उत्पादकले यूएसबी थन्डरबोल्ट पोर्ट राखेर पनि अझै पिन टाइप चार्जर नै दिइरहेका छन् । मोबाइल ब्रान्ड भएकैले हुनुपर्छ, प्रविधिप्रति यो अझ एक पाइला अगाडि भएको यसैले पुष्टि गर्छ । उच्च गुणस्तरको यूएसबी चार्जर दिन यसले कन्जुस्याँइ गरेको छैन । अनि ल्यापटप फिल्प गर्ने बित्तिकै देखिने साइनी रिङ् भएको पावर बटन र फिंगर प्रिन्ट रिडरको कम्बिनेसनलाई पनि मोबाइलको डिजाइनबाट लिइएको छ । यही विशेषता ल्यापटपमा कायम गर्न लगभग सबैजसो ल्यापटपमा दुईवटा अलग अलग बटन हुन्छन् । पहिला पावर अन गर्नुपर्छ अनि बल्ल फिङ्गर प्रिन्ट स्क्यानरमा गएर ल्यापटपको सेक्युरिटी एक्सेस लिन सकिन्छ । यसको कम्बिनेसन पावर बटन चमत्कारी भन्न त मिल्दैन, तर मोबाइलमा गरिएको सफल पद्धतिको एडप्टेसन यसका इन्जिनियरहरुले गरेकोमा धन्यवाद भने अवश्य दिनुपर्छ ।

अनि पावर अन गरेपछि जो कोही अवाक हुन्छ । मुख खुलेको खुल्यै हुन सक्छ । मान्छे छक्क पर्छ । यसको डिस्प्ले देखेर । यो ल्यापटप हो कि फ्ल्यागसिप मोबाइल हो ? मै छक्क परें, खोट लगाउनै नसकिने राम्रो डिस्प्ले यसमा रहेको छ । कति राम्रो, कति क्रिस्प, अनि कति ब्राइट डिस्प्ले । डेल, आसुस, एचपी कहाँ हराए, किन यस्तो राम्रो डिस्प्ले उनिहरुले पाउँदैनन् ? यो साओमीको मोबाइल इन्जिनियरिङकै प्रभाव हो, यति राम्रो डिस्प्लेको चयन गरिनुमा । यो डिस्प्ले हेरेपछि मलाई भर्खरै सम्म मैले राम्रो मानेर चलाइरहेको आसुसको मेरो ल्यापटप ब्लर लाग्न थालेको छ ।

मैले पहिलो पटक यो ल्यापटप प्रयोग गरेपछि मलाई बल्ल अनुभव भयो, मैले साओमीलाई अन्डर एस्टिमेट गरेको थिएँ भनेर । मोबाइल कम्पनीले के ल्यापटप बनाउलान् भनेर सोच्ने मैले ल्यापटपका मुख्य ब्रान्डहरु त प्रविधिमा आउटडेटेड रहेछन् भन्ने महसुस गरायो । दिन दिनै आउने नयाँ नयाँ प्रविधि र त्यससँगै दौडिने उपभोक्ताको दबावमा परेर वर्षको दसवटा मोबाइल बजारमा ल्याउनुपर्ने बाध्यताले साओमीहरुलाई, अर्थात मोबाइल उत्पादकहरुलाई प्रविधि के हो ? उपभोक्तालाई के चाहिन्छ ? भन्ने हेक्का निक्कै राम्रोसँग भइसकेको रहेछ भन्ने यो ल्यापटपले देखाउँछ ।

मेरो ल्यापटप चाहिँ आई फाइभ प्रोसेसर, १६ जीबी ¥याम र ५१२ जीबी एसएसडी ड्राइभको कम्बिनेसन हो । १४ इन्चको २.५ के डिस्प्ले भएको यो ल्यापटप म जस्तो हार्डकोर टेक युजरका लागि पर्याप्त छ । साओमीको आई सेभेन प्रोसेसर र ३२ जीबी ¥याम भएको यो भन्दा माथि साओमी नोटबुक अल्ट्रा पनि छ, तर १५.६ इन्च ठूलो उक्त ल्यापटप मजस्तो घुमन्तेको लागि उत्ति पोर्टेबल नहोला । तर सामान्य भिडियो कन्टेन्ट क्रिएटरका रुपमा समेत मलाई यो ल्यापटप पर्याप्त छ । मैले १५ मिनेटको फोर के भिडियो यसमा सजिलै एडिट गरेर एक्सपोर्ट गर्नसक्छु । पन्ध्र मिनेटको भिडियो एक्सपोर्ट गर्न मलाई करिब ४५ मिनेट समय लाग्छ । भिडियो एक्सपोर्टमा राखेर अरु काम गरिरहँदा मलाई खासै यसमा समस्या नपर्ने हुँदा मलाई अलिकता बढी समय एक्सपोर्ट गर्दा लागे पनि खासै फरक परेको छैन । यसमा भएको इन्टेल आइरिस ग्राफिक्स र डेढ केजी भन्दा कम तौल, माइक्रोसफ्ट जेन्युइन ओएस र जेन्युइन अफिस प्याकेज मैले यो ल्यापटपमा सम्झन लायक फिचरहरु हुन् भने फुल चार्जमा यो ल्यापटप सजिलै आठ घण्टा भन्दा बढी चल्छ । अनि यसको प्रोफेसनल स्पेसिफिकेसन यि मैले सम्झिएका फिचर तथा स्पेसिफिकेसनको कम्बोले यो ल्यापटप प्रोफेसनल र अमेच्योर दुवै किसिमका प्रयोगकर्ताका लागि डिजाइन गरिएको देखिन्छ ।

यो ल्यापटप स्पेसिफिकेसनमा निक्कै फ्युचरिस्टिक छ अनि डिजाइनमा क्लासी, जसले गर्दा यो ल्यापटप सहजै अरु पाँच वर्ष आउटडेटेड हुँदैन । १६ जीबी ¥याम छ, ओएसमा पाँच वर्ष जति ठूलो अपडेट आए पनि सजिलै धान्छ । नौ घण्टाको ब्याट्री ब्याकअप भनिएकोले पाँच वर्षपछि पनि ब्याट्री हेल्थ धेरै बिग्रँदा पनि ३ घण्टाको ब्याकअप त सजिलै पाइने अनुमान गर्न सकिन्छ । साओमीले ल्यापटपको डिजाइनमा धेरै दिमाग लगाएको छैन, जति सक्दो सिम्पल बनाउने कोसिस गरेको देखिन्छ । तर पनि स्लिक र सिम्पल डिजाइन बनाउने चक्करमा अरु धेरै ठूला ब्रान्डले जस्तो कम्प्रोमाइज पनि गरेको छैन । ल्यापटपको कनेक्टिभिटी र आउटपुटका लागि पोर्टहरु चाहिन्छन् जसले प्रोडक्टिभिटीमा प्रभाव पार्छ । यस्तो स्लिक ल्यापटपमा अपत्यारिलो सँग एक थन्डरबोल्ट सहित दुईवटा यूएसबी पोर्ट दिइएको छ भने फुल साइज एचडीएमआईले मलाई यसमा सरप्राइज नै दिएको भन्दा पनि हुन्छ । प्रिमियम ल्यापटप चलाएर पनि प्रेजेन्टेसन गर्ने बेलामा डंगोल खोज्नुपर्ने बाध्यता यसमा भने छैन । ल्यापटपको यूएसबी पोर्ट दुवै साईडमा डिस्ट्रिब्युसन गरेर साओमीले थप सजिलो बनाइदिएको छ । यहाँ हेडफोन ज्याक पनि छ तर वायरलेस बडस्को जमानामा मेरो लागि यसको काम छैन, तर गेमरहरुका लागि भने अडियो लेटेन्सी कम गर्न वायर्ड हेडफोन म्यान्डेटरी जस्तै हो ।

यो ल्यापटपमा दिएको ट्«याकप्याड विशाल मात्र होइन विशेष पनि छ । पर्पेmक्ट सेन्सिटिभिटी र स्मुथनेसले यो माउस ट्र्याकप्याड म्याजिकल छ भन्दा फरक पर्दैन । किबोर्ड र यो ट्र्याकप्याडले म्याकबुककै झल्को दिन्छ । यसको ब्याकलिट किबोर्ड जति सिम्पल छ प्रयोग गर्न त्यति नै सजिलो छ । किबोर्डमा दिइएका सर्टकर्ट कम्बिनेसन डिजाइनमा पनि साओमीले प्रशस्तै ध्यान दिएको देखिन्छ, डेडिकेटेड एपका लागि कस्टमाइज्ड गर्न मिल्ने यो म्याक्रो कि को पनि साओमीको मोबाइल इन्जिनियरिङकै उपलब्धि हुनुपर्छ ।

साओमीले ल्यापटप डिजाइन गर्न मोबाइल बुद्धि लगाउला अनि हरेक वर्ष मोबाइलका नयाँ नयाँ जेनेरेसन भित्र्याए जस्तै गरेर ल्यापटपमा पनि आफू अपडेटेड रहन मोबाइल जस्तै बर्सेनि ल्यापटप पनि फेर्नुपर्ला भनेर म डराएको त ठ्याक्कै पो उल्टो देखियो । एकपल्ट किनेपछि पाँच वर्ष ढुक्कले चलाउन सकिने ल्यापटप साओमीले बनाएछ । मोबाइल बुद्धि लगाएर ल्यापटपलाई अझ बढी पावरफुल, ब्राइटर डिस्प्ले, बढी युजेबल र डिजाइनमा परफेक्सन ल्याउँदै एक फ्युचरस्टिक ल्यापटप बजारमा ल्याउन सफल साओमीलाई हार्दिक धन्यवाद तथा सफलतको मंगलमय शुभकामना ।

लाल चन्द्र गौतम

 


प्रकाशित मिति : २०७९ फाल्गुन २, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार