पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश विकासका लागि अपरिहार्य


Deo Chandra Lal Karn

Deputy Director General

Civil Aviation Authority of Nepal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल किन आवश्यक थियो ?
पहिलो त यसका लागि म अलिक समयअगाडि त्रिभुवन विमानस्थलमा टर्किस एअरलाइन्सको विमान दुर्घटनापश्चात्का चार दिन स्मरण गराउन चाहन्छु । जसले नेपाललाई संसारसँग हवाई उडानमा विच्छेद गरेको थियो । भएको एउटा रनवे बन्द हुँदा सयौं उडान र हजारौं यात्रु नराम्रोसँग प्रभावित भएका थिए । जसले दोस्रो रनवेको अपरिहार्य आवश्यकता महसुस गराएसँगै थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनैपर्छ भनेर प्राधिकरण पनि कम्मर कसेर लागेको थियो ।
देशकै दोस्रो ठूलो सहर, अनि टुरिजम क्यापिटल भनेर पनि चिनिने पोखरामै पुरानो र सानो विमानस्थल हुँदा हाम्रो अन्तर्राष्ट्रिय छवि धुमिल थियो भने पर्यटक आवतजावतमा पनि ठूलै व्यवधान देखिएको थियो । जसले पनि पोेखरामा एक अत्याधुनिक र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गराएको हो ।
देशको हाम्रो आन्तरिक उडान प्रणालीलाई थप व्यवस्थित बनाउँदै अहिले काठमाडौंलाई आधार बनाएर उडान भरिरहेका स्वदेशी वायुसेवाका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा परेको चाप नियन्त्रण गर्दैै क्षेत्रीय विकासलाई टेवा पु¥याउन पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य देखिएको थियो ।
यो विमानस्थल सञ्चालनमा आएसँगै हामी विपद् व्यवस्थापनका क्षेत्रमा थप सबल बनेका छौं । यो देश र यहाँका हरेक जनताका लागि महत्वपूर्ण छ ।

पुरानो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा स्थानान्तरण कति सहज रहला ?
यो विमानस्थल सम्पूर्ण रुपले नयाँ निर्माण गरिएको हो । यसमा हाम्रा जनशक्तिबाहेक पुरानो विमानस्थलबाट केही पनि स्थानान्तरण गरिनुपर्ने आवश्यकता छैन । हरेक पूर्वाधार र उपकरण नयाँ जडान गरिएको छ, जसको सञ्चालनार्थ आवश्यक तालिम र व्यवस्थापन भइसकेको छ । यो विमानस्थल पूर्ण क्षमतामा भने फेब्रुअरीको तेस्रो साताबाट सञ्चालनमा ल्याउने हाम्रो योजना अनुरुप कामहरु अगाडि बढेका हुन् । पुरानो विमानस्थलबाट स्टल उडान र रिक्रिएसन उडानमा प्रयोग हुँदै आएका अल्ट्रालाइट उडान गरिनेछन् भने सम्पूर्ण हेलिकोप्टरहरु पुरानै विमानस्थलबाट उडान भरिने छन् । अन्य उडानहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हुँदा उडान चाप कम हुन गई प्रभावकारी उडान प्रणाली अवलम्बन गर्न सकिने हामीले ठम्याएका छौं ।
पोखरामा हाल दुई विमानस्थल अलगअलग क्षमतामा सञ्चालनमा रहनेछन् । दुईवटा धावनमार्ग, दुईवटा टावर, दुई फायर फाइटिङ सिस्टम, दुईवटा टर्मिनल नै सञ्चालन हुनेछन् । यसबाट यात्रुले थप लाभ र सहजता हासिल गर्ने हामीले विश्वास लिएका छौं ।
भैरहवाको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाइ भइरहँदा पोखराको उपादेयता के रहला ?
त्यसरी सोच्नै भएन । कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल आज बनेर आजै पूर्ण क्षमतामा उपयोगमा आउने भन्ने हुँदैन । संसारको व्यस्तमध्येको एक मानिने थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर पनि विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन दुई वर्षभन्दा बढी समय लागेको थियो । त्यस्ता धेरै उदाहरण छन् । तर, नेपालजस्तो विकासशील देश, अनि क्षेत्रीय विकासमा रहेको पछौटेपनको निराकरण कालान्तरमा यही विमानस्थलबाट हुने विश्वास लिन सकिन्छ । मध्यपश्चिमको विकास र लुम्बिनीमा रहेको धार्मिक पर्यटनको विकासमा यो कोसेढुंगा बन्नेछ । यता पोखरा विमानस्थल फरक आवश्यकतामा जन्मिएको हो । यसले काठमाडौंको हवाई चाप व्यवस्थापनमा मद्धत पु¥याई काठमाडौंको आकाशमा हुने एअरहोल्ड घटाउने प्रमुख लक्ष्य राखेको छ भने पोखराको पर्यटनलाई सोझै अन्तर्राष्ट्रिय बजारसँग जोड्नेछ । मध्यम आकारका जहाजबाट भारत, सिंगापुर, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, दुबई भएर पर्यटकहरु सोझै पोखरा आइपुग्ने सम्भावना यस विमानस्थलले विस्तार गरेको छ । उडान संख्याका हिसाबले अहिले पोखरामा भइरहेको आन्तरिक उडान तुरुन्तै दोब्बर हुँदैछ । त्यसैले न त लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता थिएन भन्न मिल्छ, न त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयतामै शंका गर्नुपर्छ । यी र यस्ता थप पूर्वाधारहरु देश विकासका लागि अपरिहार्य छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ?
हार्डवेयर, सटवेयर र लाइभवेयरसमेतका दृष्टिकोणले अप्टिमाइज्ड अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १, २०२३ का दिन औपचारिक रुपमा सञ्चालन भएर आइकाओको नियमामनुसार फेब्रुअरी २३ बाट आईएफआर प्रणालीमा सञ्चालन हुनेछ । त्यसबेलासम्म भीएफआर उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसपछि भने १८ घण्टा सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको छ । यो विमानस्थल चौबीसै घण्टा सञ्चालनमा ल्याउने उद्देश्य राखेरै डिजाइन तथा निर्माण गरिएको हो ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार