पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठूलो परिवर्तनको आभाष


Roshan Khawas

General Manager

Fish Tail Lodge | Pokhara

पोखरामा निर्माण भएका नयाँ पूर्वाधार पर्यटन विकासमा कति सहायक बनेका छन् ?
पोखरामा सडक बिस्तार उल्लेख्य मात्रामा भएको छ । गाउँ गाउँसम्म सडकहरु राम्रा बनेका छन् । केबलकार, जिपलाइन, बन्जी थपिएका छन् । प्याराग्लाइडिङ र स्काई डाइभिङले पोखरालाई पहिल्यै देखि पहिचान दिलाएकै हो । अहिले बनेको अन्तर्राष्ट्रिय विमानस्थल देशकै महत्वपूर्ण पूर्वाधार परियोजना हो । पोखरालाई जोड्ने सडकहरु पनि निर्माणका क्रममा रहेका छन् । यी सबै कुराहरु पोखराको विकासका सकारात्मक पाटा हुन् । अर्कातर्फ पर्यटन पूर्वाधारको केन्द्रीकृत विकासमा ठोस नीति बनाउन आवश्यक छ । एकीकृत ढंगले पूर्वाधार विकासको खाका बनायो भने डिमान्ड र सप्लाई पनि नियन्त्रण हुनुका साथै अस्वस्थ्य प्रतिस्पर्धा समेत हुँदैन भने प्राकृतिक सौन्दर्यतालाई पनि प्रभावित गर्नबाट बचिनेछ भन्ने मेरो बुझाइ हो । पर्यटकीय पूर्वाधारको विकासका क्रममा प्रकृति दोहन भयो वा प्राकृतिक सौन्दयर्तालाई प्रभावित हुने कार्य गरियो भने त्यो प्रत्युत्पादक हुनेतर्फ हामी सबै सचेत रहन उत्तिकै आवश्यक छ ।

पोखराको पर्यटन प्रवद्र्धनमा पोखरा विमानस्थलले कस्तो भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ ?
पोखरा पर्यटनमा आधारित सहर हो त्यसमा दुईमत छैन, तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पोखरा देशकै दोस्रो ठूलो सहर पनि हो । जहाँ निक्कै पुरानो विमानस्थल थियो । बादल लागे पनि बन्द हुन्थ्यो, हुस्सु लागे पनि विमान अवतरण हुन सक्दैनथियो । जेट विमान पोखराको आकाशमा आइपुगेकै थिएन । विमानस्थल भवन पनि ज्यादै पुरानो, अव्यवस्थित र अपर्याप्त थियो । उता देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन हो भनेर हामीले भनिरहँदा यो विडम्बनाले हामीलाई गिज्याएको झैं लाग्थ्यो ।
यसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो परिवर्तनको आभाष दिलाएको छ । हामी पर्यटन व्यवसायीमा एउटा आशा जगाएको छ । अनि हामीलाई पर्यटक रिसिभ गर्न विमानस्थलमा जाँदा हुने हिनताबोधलाई उत्साह र आत्मविश्वासमा परिणत गराएको छ । लक्जरी ट्राभल गर्न चाहने पर्यटकलाई सोझै पोखरा आउनसक्ने वातावरण बनेको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो ।
दोस्रो विमानस्थलका रुपमा स्थापना भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षाकृत परिणाम दिन नसक्दा पोखराप्रति पनि नकारात्मक टीकाटिप्पणी गर्नेहरु पनि छन् नि ?
भैरहवा र पोखरामा ठूलो अन्तर छ । भैरहवा विमानस्थलमा भारत नेपाल द्विपक्षीय हवाई सम्बन्धका प्रसङ्गहरु पनि छन् । भैरहवा सीमावर्ती सहर हो, लुम्बिनीको पर्यटनभन्दा यहाँ अरु आर्थिक तथा सामाजिक पक्षहरु बलिया छन् । जसले भैरहवाप्रति आवश्यकता भन्दा बढी आशा गरिएको भन्ने मेरो बुझाइ हो । अर्कातर्फ पोखरा पूर्णतया पर्यटनमा आधारित सहर हो । देशकै एड्भेन्चर हबका रुपमा स्थापित भइसकेको पोखरा हरेक किसिमका पर्यटकलाई आकर्षित गर्न सक्षम रहेको छ । राज्य र अर्थ निर्माताहरुले पर्यटनलाई आर्थिक जग बनाउनुपर्छ भनिरहँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व उच्च रहेको थप प्रष्ट पारिरहनु पर्लाजस्तो मलाई लाग्दैन ।
यो विमानस्थलले गुणात्मक पर्यटकको अभिवृद्धिसमेत गर्नेछ । यहाँको प्राकृतिक सौन्दर्यताले लोभ्याएर निक्कै दुःख गरेर भए पनि विगतमा खर्चालु पर्यटकहरु आउने गर्थे । हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले आवागमनमा सहजता थपेसँगै यहाँ प्राइभेट जेटमा घुम्न आउने पर्यटकको नयाँ क्याटागोरी थपिने निश्चित छ । त्यसका लागि अब आवश्यक पूर्वाधार पूरा भएको छ, मात्र सही प्रवद्र्धनको खाँचो छ ।

पोखराको प्रवद्र्धनमा केकस्ता प्रयासहरु आवश्यक छन् ?
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पोखरामा जति पर्यटकहरु आएका छन्, ती सबै प्रकृतिले लोभ्याएका पर्यटक हुन् । यहाँको सौन्दर्यताका लागि आएका पर्यटकहरु हुन् । उनीहरु आउनमा पोखराका स्थानीय पर्यटन व्यवसायीको निजी प्रयास र थोरै राज्यको पनि भूमिका छ । त्यो कुनै पनि हालतामा पर्याप्त भएको मान्न सकिँदैन । पोखरा जति पर्यटकीय आकर्षकले भरिपूर्ण छ त्यो रुपमा पोखराको कहिल्यै प्रवद्र्धन भएकै छैन । त्यसैले पोखरा समय सापेक्ष प्रवद्र्धनको पर्खाइमा छ । सही समय आइसकेको छ । राज्यका निकायहरु, निजी पर्यटन उद्यमी र सरोकारवालाहरु सबैले एक भएर यो सहरको प्रवद्र्धन अन्तर्राष्ट्रिय बजारमा गर्नुपर्छ । जसले पोखाराको पर्यटन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुवैको भविष्य निर्धारण गर्नेछ ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार