CN Pandey
Past President
NATTA
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइरहँदा कस्तो महसुस गरिरहनुभएको छ ?
पर्यटन व्यवसायीको आँखामा यो विमानस्थलको महत्व र आवश्यकता ज्यादै ठूलो छ । चार दशक अगाडिदेखि निर्माणको चर्चा गरिएको यो विमानस्थल ज्यादै धैर्यताका साथ पोखरेली जनताले प्रतिक्षा गरेका हुन् । पोखराका पर्यटन व्यवसायीले त यो विमानस्थल निर्माण अविलम्ब सुरु गरिनुप¥यो भनेर रिले अनसन नै पनि गरेका थिए । त्यो अनसनमा म पनि सामेल थिएँ । यस अर्थमा पनि यो विमानस्थलको सञ्चालनमा म अत्याधिक खुशी हुनेमध्येको एक हुँ । विभिन्न कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । यो घडी हामी समस्त पर्यटन व्यवसायी त्यसमाथि अझ पोखरेली पर्यटन व्यवसायीले निक्कै व्यग्रताका साथ प्रतिक्षा गरेको समय हो । यसले पोखराको पर्यटनको विकासमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
यो विमानस्थल निर्माण हुनै गाह्रो भएको थियो । निर्माणको घोषणा भएपछि आर्थिक स्रोत जोहो गर्न राज्यलाई त्यस्तै हम्मे हम्मे भएको थियो । निर्माणको चरणमै प्रवेश गर्दा पनि समयमै निर्माण होला कि नहोला शंका उपशंका प्रशस्तै थिए । लक्षित योजना र कार्यतालिका अनुसार निर्माण भइरहेको विमानस्थलको निर्माण कार्य नै ठप्प पारेको कोरोना माहामारीको प्रभाव नहुँदो हो त यो विमानस्थल तोकिएको समयभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भइसक्ने थियो । यद्धपि एक वर्ष समय थप गरेर यो विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको विद्यमान अवस्था हाम्रो लागि ठूलो उपलब्धि हो । तर यो अब मुख्य कार्यको थालनी मात्रै हो । हामी पूर्ण रुपले खुसी भइहाल्नुपर्ने अवस्था बनिसकेको छ्रैन । निक्कै ठूलो ऋण लिएर निर्माण गरिएको यो विमानस्थलको सञ्चालन महत्वपूर्ण पक्ष हो । अन्तर्राष्ट्रिय नाम राख्दैमा र पूर्वाधार बनाउँदैमा त्यो विमानस्थल हुँदैन । त्यहाँ विमानहरुको आवागमन हुनुपर्छ । त्यससँगै पर्यटकहरु आउनुपर्छ । चहलपहल हुनुपर्छ । आर्थिक गतिविधि अगाडि बढ्नुपर्छ । विमानस्थलले आयआर्जन गरेर विमानस्थल निर्माणको लागि लिइएको ऋण तिर्न सक्नुपर्छ । तबमात्र यो सफलता उन्मुख हुनेछ ।
यो सफलता प्राप्तिका लागि के गरिनुपर्ला ?
विमानसेवा सञ्चालन ज्यादै खर्चिलो व्यवसाय हो । राज्यले ठूलो अनुदान दिएर सञ्चालन गरिएका विश्वकै ठूलामध्येका वायुसेवा प्रदायकले पनि विभिन्न समयमा आर्थिक संकटको सामना गर्नुपरेका उदाहरणहरु प्रशस्तै छन् । त्यसले के प्रतिनिधित्व गर्छ भने आर्थिक रुपमा संभाव्यता बोकेका क्षेत्रमा मात्र वायुसेवा आकर्षित हुनेछन् । त्यसैले हामीले विमानस्थल निर्माण गरिदिएर मात्र अन्तर्राष्ट्रिय वायुसेवा आउँदैनन् । उनिहरुले यहाँ सम्भाव्यता देख्नुपर्छ । जसका लागि विमानस्थल व्यवस्थापनले वायुसेवालाई आकर्षित गर्ने योजना र कार्यक्रमहरु अगाडि ल्याउनै पर्छ । आर्थिक छुट र लाभका प्याकेजहरु सार्वजनिक गर्नुपर्छ । पोखरा विमानस्थल र पोखराको प्रवद्र्धनमा नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा विमानस्थल र पर्यटन क्षेत्रका सरोकारवालाहरु पनि सक्रियतापूर्वक लाग्नैपर्छ । वायुसेवा प्रदायकले काठमाडौंमा उडान नभरेर किन पोखरा विमानस्थलमा उडान भर्नुपर्छ भन्ने कुरा प्रष्टिन अपरिहार्य छ । आजको आधुनिक पद्धतिमा कुनै पनि वस्तु वा सेवाको ब्रान्डिङ र प्रवद्र्धनबिना त्यसलाई बिक्री गर्न सकिँदैन । विमानस्थलले बिक्री गर्ने सेवा त्यसभन्दा फरक नरहने हामी सबैले बुझेर त्यसअनुरुप यो नयाँ विमानस्थलको प्रवद्र्धनका लागि काम गर्नैपर्छ । अन्तर्राष्ट्रिय विमान कम्पनीका प्रमुख कार्यकारीहरुलाई पोखरा ल्याएर कार्यक्रम आयोजना गर्दै यो विमानस्थलको महत्व र पोखराको सौन्दर्यता देखाउनुपर्छ । पोखरा सोझो उडानमा पुग्न सकिन्छ काठमाडौं भएर जानुपर्ने बाध्यता छैन भन्ने पक्षलाई प्रवद्र्धन गरिनुपर्छ तब यो विमानस्थलमा पर्यटक र अन्तर्राष्ट्रिय वायुसेवा आउनेछन् र साँच्चै नै अन्तर्राष्ट्रिय विमानस्थलको पहिचान तबमात्र प्राप्त हुनेछ । पोखरा विमानस्थलले भैरहवा अथवा काठमाडौंमा जस्तो श्रमिक यात्रु पाउने छैन । यो पर्यटककै लागि बनेको विमानस्थल हो, जसका लागि प्रवद्र्धन अत्यावश्यक छ ।
यो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटकीय नगर पोखराको पहिचानमा कस्तो सहयोग गर्ला ?
पर्यटकीय सहरका रुपमा पोखराको पहिचानमा यस अन्तर्राष्ट्रिय विमानस्थलले पूणर्ता दिलाएको छ । अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै यो पूर्णरुपमा पर्यटकलाई सेवा दिन सक्षम सहर बनेको छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको होटेलहरु निर्माण भइसकेका छन्, साहसिक पर्यटनका क्षेत्रमा पोखरा विश्वमै पहिचान कमाइ सकेकै हो । रात्री जीवन होस् या स्प्रिचुअल टुरिजम होस्, पोखरा कहीँ कम छैन । प्राकृतिक सौन्दर्यताको मनमोहकतामा विश्वकै अग्रस्थानमा आउने पोखरामा अलिकता मात्र मिहेनत गर्नसके यहाँ अब पर्यटकको ओइरो लाग्नेछ ।